भबन निर्माणमा माटो परिक्षणको महत्व

अहिले घरको निर्माण लागत महँगो हुँदै गएको छ । निर्माणमा प्रयोग हुने सबै सामान किन्नुपर्ने र त्यसमा पनि दिनप्रतिदिनको बढ्दो महँगीले घर जोड्नु जीवनकै सबैभन्दा खर्चिलो काम बनेको हो । सामान्यतया एउटा मानिसले आफ्नो जीवनकालमा एउटा घर बनाउन सक्छ । यसरी जीवनमा एकपटक बनाइने घर सुरक्षित हुनु अति आवश्यक छ ।घर बनाउनुअघि यसको सुरक्षा सुनिश्चित गर्न जग्गा तथा घडेरीको माटो जाँच्नु आवश्यक हुन्छ । ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२’मा पाँच तलाभन्दा अग्ला सबै भवन र सर्वसाधारण भेला हुने ठाउँहरू, जस्तै– शपिङ मल, सुपरमार्केट, स्कूल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिकलगायतको १५ मिटरभन्दा अग्ला भवनको हकमा माटो परीक्षण गरी पेश गर्नुपर्ने प्रावधान उल्लेख छ । त्यसैगरी १० हजार वर्गफीटभन्दा अग्ला भवनको भौगर्भिक परीक्षण गर्नुपर्ने व्यवस्था उक्त मार्गदर्शनमा समेटिएको छ ।हामीकहाँ घर बनाउनुअघि माटोको परीक्षण गर्ने परिपाटी अझै बसिसकेको छैन, जसले गर्दा यसरी बनाइएका घर अचानक भासिएको खबर बेलाबेलामा सञ्चारमाध्यममा आइरहेका छन् । गएको २०७२ सालको भूकम्पमा क्षति हुने घरहरूमा अन्य कारणसँगै माटोको क्षमता परीक्षण नगरी बनाइएका घर पनि परेका छन् । कतिपय स्थानमा त पूरै बस्ती नै घर बनाउन अयोग्य प्रमाणित भएका छन् । हालसम्मको अध्ययनबाट १ सय ९० ओटा बस्ती पूर्ण वा आंशिक रूपमा असुरक्षित भनी तोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।
घर बनाउन आधारभूत तत्त्व नै जमीन हो । हामीकहाँ घर बनाउन जग्गा किन्दा पहिलो अवस्थिति र दोस्रो मूल्य हेर्ने चलन छ । घर उभ्याउने माटोको अवस्थामा कसैले पनि ध्यान दिएको पाइन्न । त्यति मात्र होइन, घरको तला आफ्नो आवश्यकता र आर्थिक अवस्थाअनुसार थप्ने सबै हुन्छन् । तर, घर उभिएको माटाले कति तलासम्म थेग्न सक्ने क्षमता भनेर चासो नै दिइन्न ।
जनसङ्ख्या वृद्धि तथा शहरप्रतिको आकर्षणले सिमसार, खेतीयोग्य, भिराला जस्तोसुकै स्थानमा पनि घर बनाउने प्रचलन बढ्दो छ । कुनै बेलाको पोखरीका रूपमा रहेको काठमाडौं उपत्यकामा खेतीयोग्य कालो माटो छ । तर, शहरीकरणले बस्ती विकास हुँदै जाँदा सानादेखि गगनचुम्बी भवन बन्न थाले । यसको परिणाम २०७२ सालको भूकम्पको असर बढी परेको विज्ञहरूले बताउँदै आएका छन् । त्यसैगरी पोखराका विभिन्न स्थानका घर भासिनुमा पनि त्यहाँको माटो वा भौगर्भिक अवस्था नै मुख्य कारण हो ।माटो परीक्षण नगरी घर बनाउँदा बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपले घर पूर्ण वा आंशिक रूपमा भासिने, तथा भत्किने जोखीम हुन्छ । माटो परीक्षणमा माटोको भारवहन क्षमताका साथै घर बनाउने जमीनमुनिको अवस्था पनि हेर्नुपर्ने हुन्छ । यसो गर्नाले घर सुरक्षित हुनुका साथै विपत्तिका बेला हुन सक्ने धनजनको क्षतिबाट पनि बचिन्छ ।
माटोअनुसार भारवहन क्षमता फरक हुन्छ । भवन निर्माणका हिसाबले माटोलाई चार प्रकारमा विभाजन गरिएको छ । कालो तथा खेतीयोग्य माटो पहिलो श्रेणी ९कमजोर०मा पर्दछ । काठमाडौंको माटो यही श्रेणीमा पर्दछ । विशेषगरी विगतमा पानी रहेको पोखरी तथा धाप जस्ता क्षेत्रको माटो पनि यसै श्रेणीमा पर्दछ । दोस्रो श्रेणीमा बालुवा मिसिएको माटो पर्दछ । तेस्रो श्रेणीमा ढुङ्गा मिसिएको रातो, चिम्ट्याइलो माटो पर्दछ भने चौथोमा ढुङ्गाकोे मात्रा बढी भएको तर कालो माटो नभएको र भिरालो पनि नपरेको ठाउँको माटो पर्दछ ।
सरकारले तीन तलाभन्दा माथिका घर बनाउँदा माटो परीक्षण अनिवार्य गरेको छ । तर, सामान्यतया त्यसभन्दा माथिका घर बनाउँदा पनि माटो परीक्षण गर्ने परिपाटी नरहेको इञ्जिनीयर शिवप्रसाद भण्डारी बताउँछन् । ‘घर मात्र होइन, अग्ला अग्ला व्यावसायिक भवन पनि माटो परीक्षण नगरी बनाउने प्रचलन हामीकहाँ छ,’ उनी भन्छन्, ‘भूकम्पपछि भने सचेतता अलि बढेकाले फिल्डमा काम गर्ने हामीहरूलाई पनि बुझाउन केही सहज भएको छ ।’

Recent Post

Share on Google+

SUBSCRIBE US

CONNECT WITH US

Copyright ©SapanaKoGhar, 2021
Developed by: Creatu Developers